काठमाडौँ । सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक बन्ने निश्चित भएको छ ।
प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याकंनका आधारमा सुवेदीलाई बढुवा गर्न सिफारिस गरेसँगै उनी नयाँ कार्यकारी निर्देशक बन्ने भएका हुन् ।
कार्यकारी निर्देशकका लागि निर्देशकत्रय कमल रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुंगेल प्रतिस्पर्धामा थिए । कार्य सम्पादन मूल्याङ्कनमा सुवेदीले सबैभन्दा धेरै अर्थात् ७७.१९४ अङ्क प्राप्त गरेका उनलाई बढुवाका लागि सिफारिस गरिएको हो । सुवेदी २०७६ साल वैशाखमा निर्देशक बढुवा भएका थिए ।
गत आठ महिनादेखि बीमा प्राधिकरणको कार्यकारी निर्देशक पद रिक्त छ । जेठ दोस्रो साता राजुरमण पौडेलले अवकाश भएपछि पाएपछि उक्त पद रिक्त थियो । पदपूर्ति समितिको सिफारिससँगै प्राधिकरण सञ्चालक समितिले उनलाई नयाँ कार्यकारी निर्देशकको रुपमा नियुक्ति गर्नेछ ।
नयाँ नियुक्त हुने कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरिएको छ । अर्को चार वर्षका लागि फेरि नियुक्ति गर्न सकिने व्यवस्था समेत बीमा ऐनमा गरिएको छ ।
त्यसो त दुई उपकार्यकारी निर्देशक पदमा समेत रिक्त छ । बीमा प्राधिकरणमा अध्यक्षका लागि भने अन्तरिम व्यवस्था गरिएको छ । अध्यक्ष नियुक्ति प्रक्रिया अहिले चलिरहेको छ ।