काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर गरिएको छ । माअोवादी केन्द्रीय कमिटी बैठकको निर्णय परिपत्र गर्ने क्रममा सचिवालय हेरफेरको जानकारी गराइएको हो ।
यसअघि सचिवालयमा रहेका रमेश मल्ल विशेष प्रदेशको सहइञ्चार्जमा सरुवा भएका छन् । उनको ठाउँमा गोविन्द आचार्यलाई ल्याइएको छ । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । अहिले उनलाई सचिवालयको प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादीका पूर्व सांसद तथा प्रचण्डको सुरक्षामा खटिएका पूर्वजनमुक्ति सेना सन्तु दरैलाई पनि सचिवालयमा राखिएको छ । त्यसैगरी माओवादी केन्द्रीय कमिटी सदस्य तथा दाहालपुत्री गंगा दाहाल पनि सचिवालयमा छिन् ।
त्यसैगरी डा.बाबुराम भट्टराईको निकट रहेर जनयुद्धकालदेखि नै हेडक्वार्टरमा काम गरेका विश्वदीप पाण्डेलाई पनि सचिवालयमा राखिएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेका गोकर्ण भट्टलाई पनि सचिवालयमै राखिएको बताइएको छ ।