बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडको १७ औ वार्षिकोत्सवको अवसरमा आर्थिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीसँग सहकार्य गरेर स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट यसवर्ष एभीन्युज टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख एवं बिजनेस खबर पत्रिकाका सम्पादक खनाललाई ५० हजार १११ रुपियाँ राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । बैङ्कका अध्यक्ष थानेश्वर पौडेल एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खनाललाई पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत भएपछि बोल्दै पत्रकार खनालले यो पुरस्कारले आफूलाई आर्थिक क्षेत्रमा कलम चलाउन थप ऊर्जा मिलेको बताए । यतिबेला आर्थिक क्षेत्र समस्यामा परेको भन्दै उनले यसका लागि सबै क्षेत्रले मिलेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्नेतर्फ पहल र प्रयन्त गर्नुपर्ने उनले सुझाव दिए ।
बैङ्कको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । २०८१ पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार बैङ्कको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको छ ।
जसमा व्यापार कर्जा १८ दशमलव ९१ प्रतिशत, कृषि कर्जा ५ दशमलव ९१ प्रतिशत, आवास निर्माण कर्जा ३ दशमलव ८२ प्रतिशत, विपन्न वर्ग कर्जा ५ दशमलव ८९ प्रतिशत, जग्गा खरिद कर्जा ४ दशमलव ९५ प्रतिशत, होटेल तथा पर्यटन कर्जा १६ दशमलव ८५ प्रतिशत, उद्योग कर्जा १४ दशमलव २१ प्रतिशत, उपभोग्य कर्जा २० दशमलव ३५ प्रतिशत, हायरपर्चेज कर्जा १ दशमलव ४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैङ्कले जनाएको छ ।