काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलाले पार्टीभित्रको पुरानो गुटगत समीकरणलाई मात्र उजागर गरेको छैन, कांग्रेसको आगामी राजनीतिक यात्राका लागि एउटा गम्भीर प्रश्न पनि खडा गरेको छ-अब कांग्रेस व्यक्ति र गुटको प्रतिस्पर्धामा अघि बढ्ने कि पुस्ताबीचको सहकार्यबाट नयाँ राजनीतिक आधार निर्माण गर्ने?
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साउन २९ शुक्रवार आयोजित राष्ट्रिय भेलाको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा दीप प्रज्वलन गरेर गरे। दीप प्रज्वलनपछि उनले कांग्रेसको चुनाव चिह्न ‘रुख’मा जलसेचन गरे। सामान्य औपचारिकताजस्तो देखिए पनि देउवाको यो प्रतीकात्मक कदमले अहिलेको कांग्रेसका लागि गहिरो राजनीतिक सन्देश बोकेको देखिन्छ-रुख जोगाउने हो भने सबैले यसको जरामा पानी हाल्नुपर्छ।
करिब छ महिनापछि स्वदेश फर्किएका देउवा कांग्रेसको ठूलो राजनीतिक जमघटमा सहभागी भएका हुन्। जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार काठमाडौं फर्किएका थिए। स्वदेश फर्किएलगत्तै राष्ट्रिय भेलामा उनको सहभागिताले कांग्रेसभित्रको भावी शक्ति सन्तुलन र नेतृत्वको भूमिकामाथि नयाँ बहस सुरु गरेको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा देउवासहित पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महतलगायत नेताहरूले सम्बोधन गरे।
तर सुकेधाराको भेलाको महत्व नेताहरूको उपस्थितिमा मात्र सीमित छैन। यसको वास्तविक महत्व कांग्रेसभित्र बढ्दै गएको पुस्तान्तरण, नेतृत्व हस्तान्तरण, संगठन पुनर्निर्माण र गुटभन्दा माथि उठ्ने राजनीतिक संस्कारको बहसमा छ।
कांग्रेसको संकट देउवा कि गगन होइन, सहकार्यको अभाव हो
कांग्रेसभित्र लामो समयदेखि नेतृत्व र पुस्तान्तरणलाई लिएर बहस हुँदै आएको छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका प्रतिस्पर्धी होइनन्, पार्टी पुनर्निर्माणका लागि परिपूरक बन्नुपर्ने आवश्यकता अहिले झन् बढेको छ।
यही ठाउँमा शेरबहादुर देउवाको अभिभावकीय भूमिका र गगन थापाको पुस्तान्तरणमुखी नेतृत्वबीच साझा एजेन्डा निर्माण कांग्रेसका लागि निर्णायक हुन सक्छ।
देउवासँग लामो राजनीतिक अनुभव, संगठन निर्माणको ज्ञान र राष्ट्रिय राजनीतिमा स्थापित पकड छ। नयाँ पुस्तासँग जनअपेक्षा बुझ्ने क्षमता, नयाँ राजनीतिक भाष्य निर्माण गर्ने चुनौती र परिवर्तनप्रतिको ऊर्जा छ। यी दुई पक्षबीच संघर्ष मात्र भयो भने कांग्रेस कमजोर हुन्छ; सहकार्य भयो भने कांग्रेसले आफूलाई पुनःस्थापित गर्ने अवसर पाउन सक्छ।
त्यसैले अब बहस ‘देउवा कि गगन?’ भन्ने होइन, ‘देउवा र गगनले कांग्रेसका लागि के साझा गर्न सक्छन्?’ भन्ने हुनुपर्ने देखिन्छ।
अभिभावक देउवा, नेतृत्वमा नयाँ पुस्ता
कांग्रेसको हितका लागि देउवाले अब प्रत्यक्ष शक्ति संघर्षभन्दा अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ पुस्तालाई सहज वातावरण निर्माण गर्नु महत्वपूर्ण हुन सक्छ।
त्यसका लागि देउवाको अनुभव र गगन थापालगायत नयाँ पुस्ताको राजनीतिक ऊर्जालाई एउटै साझा एजेन्डामा जोड्न आवश्यक छ।
संगठन सुधार, डिजिटल सदस्यता, युवाको निर्णायक सहभागिता, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, जनतासँग प्रत्यक्ष संवाद र कांग्रेसलाई आगामी पुस्ताको पार्टी बनाउने विषय साझा एजेन्डाका आधार बन्न सक्छन्।
गुटको गणितले होइन, जनताको विश्वासले कांग्रेस बलियो हुन्छ
कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती अहिले अर्को गुटलाई पराजित गर्नु होइन, जनताको विश्वास पुनःआर्जन गर्नु हो। पार्टीभित्रै को बलियो र को कमजोर भन्ने गणितमा कांग्रेस अल्झिरहने हो भने संगठन थप कमजोर बन्न सक्छ।
युवा पुस्तामा राजनीतिक वितृष्णा बढ्दै जाने र नयाँ राजनीतिक शक्तिहरूले कांग्रेसको परम्परागत जनाधारमा चुनौती थप्ने अवस्था सिर्जना हुन सक्छ।त्यसैले सुकेधाराको भेलाले कांग्रेसभित्र नयाँ शक्ति संघर्षको सुरुवात गर्नेभन्दा नयाँ सहकार्यको आधार तयार गर्नुपर्ने देखिन्छ।
‘रुख’ जोगाउने जिम्मेवारी सबैको
देउवाले रुखमा जलसेचन गरेर दिएको प्रतीकात्मक सन्देशलाई कांग्रेसले गम्भीरतापूर्वक ग्रहण गर्ने हो भने अब पार्टीभित्र पानी हाल्ने रुख काट्ने प्रवृत्तिबीच स्पष्ट छनोट गर्नुपर्ने समय आएको छ।
कांग्रेसलाई व्यक्ति होइन संस्था बनाउने, गुट होइन संगठन बनाउने र नेतृत्वको प्रतिस्पर्धालाई विनाश होइन निर्माणको माध्यम बनाउने राजनीतिक संस्कार आवश्यक छ।
देउवाले अभिभावकीय भूमिका खेल्ने र गगनसहित नयाँ पुस्ताले जिम्मेवार नेतृत्वको बाटो समात्ने हो भने कांग्रेसभित्र पुस्ताबीचको दूरी घट्न सक्छ। त्यसबाट शेखर कोइराला, पूर्णबहादुर खड्का,
प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला,डा प्रकाशशरण महत लगायतका अनुभवी नेताहरूको राजनीतिक अनुभवलाई पनि नयाँ पुस्ताको ऊर्जासँग जोड्न सकिन्छ।
अब कांग्रेससँग दुईवटा बाटा छन् -गुटगत प्रतिस्पर्धालाई निरन्तरता दिने वा साझा एजेन्डामार्फत पार्टी पुनर्जागरणको यात्रा सुरु गर्ने।
सुकेधाराको राष्ट्रिय भेलाले यही दोस्रो बाटो रोज्न सक्यो भने मात्र यो भेला एउटा समूहको कार्यक्रम नभई नेपाली कांग्रेसको पुनर्निर्माणको प्रारम्भिक बिन्दु बन्न सक्छ।
अन्ततः देउवाले रुखमा पानी हालेका छन्। अब प्रश्न यति मात्र हो-कांग्रेसका नेताहरूले त्यो रुखको जरासम्म पुग्ने गरी साझा एजेन्डाको पानी कहिले हाल्छन्?
कांग्रेस कमजोर भयो भने कुनै गुट बलियो भएर पनि जित्ने छैन; कांग्रेस बलियो भयो भने सबै पुस्ता र सबै धारको राजनीतिक अस्तित्व बलियो हुनेछ।
