Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘कुन महान शब्दबाट धन्यवाद दिऊँ?’-प्रधानमन्त्री शाहको भावुक सम्मान, जोखिम मोलेर जीवन बचाउँदैछिन् पाइलट प्रिया


२२, भदौ २०८३
  • 85
    SHARES
  • ‘कुन महान शब्दबाट धन्यवाद दिऊँ?’-प्रधानमन्त्री शाहको भावुक सम्मान, जोखिम मोलेर जीवन बचाउँदैछिन् पाइलट प्रिया

    राजनीतिक आरोप-प्रत्यारोपभन्दा माथि उठेर विपद्मा निरन्तर उद्धारमा खटिएकी महिला पाइलटलाई प्रधानमन्त्रीको सलाम

    काठमाडौं । विपद्का बेला उद्धारमा खटिनेहरूका लागि न त राजनीति ठूलो हुन्छ, न व्यक्तिगत स्वार्थ। अगाडि हुन्छ त केवल संकटमा परेका मानिसको जीवन। यही मानवीय भावनाको प्रतिनिधि बनेर जोखिमपूर्ण उद्धार अभियानमा निरन्तर खटिएकी महिला हेलिकप्टर पाइलट प्रिया अधिकारीप्रति प्रधानमन्त्री बालेन्द्र शाहले भावुक सम्मान व्यक्त गरेका छन्।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रिया अधिकारीको तस्बिर सार्वजनिक गर्दै उनको साहस, समर्पण र मानवीय सेवाको प्रशंसा गरेका हुन्। प्रधानमन्त्री शाहले लेखेका छन्, ‘कुन महान शब्दबाट धन्यवाद दिऊँ र तपाईँ जस्तो महान नारीलाई!’

    विपद्को समयमा सरकारमाथि आलोचना र राजनीतिक आरोप–प्रत्यारोप भइरहे पनि अधिकारी भने आफ्नो जिम्मेवारीबाट पछि नहटी उद्धार अभियानमा निरन्तर खटिएको प्रधानमन्त्री शाहको भनाइ छ।

    उनले लेखेका छन्, ‘यहाँ कति मान्छे सरकार विरुद्ध खनिँदा पनि तपाईँले आफ्नो कर्म निरन्तर गर्नु भयो।’

    प्रधानमन्त्री शाहले केही व्यक्ति आफूलाई चिनाउन र केही राजनीतिक लाभका लागि सक्रिय भइरहँदा अधिकारीले भने मानवताको पक्षमा उभिएर कठिन परिस्थितिमा समेत सेवा गरिरहेको उल्लेख गरेका छन्।

    ‘यहाँ कोही आफूलाई चिन्न प्रस्तुत भए भने कोही पार्टीगत लाभको लागि, तर तपाईँ मानवताको वस्त्र लगाएर जाडो, खुट्टा भो...’ भन्दै उनले उनको समर्पणप्रति सम्मान व्यक्त गरेका छन्।

    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा एउटा महत्वपूर्ण सन्देश पनि देखिन्छ-विपद्को समयमा राजनीतिक बहस र स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन बचाउन मैदानमा खटिनेहरू नै वास्तविक अर्थमा मानवताको पक्षमा उभिएका हुन्छन्।

    को हुन् प्रिया अधिकारी?

    प्रधानमन्त्री शाहले सार्वजनिक गरेको तस्बिरमा देखिएकी महिला प्रिया अधिकारी हुन्। उनी एभरेस्ट हेलिमा वरिष्ठ हेलिकप्टर पाइलटका रूपमा कार्यरत रहेको विवरण दिइएको छ।

    अधिकारीले नेपालका विकट हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा उद्धार तथा मेडिकल इभ्याकुएसन (Medevac/Rescue Flight) अभियानमा उडान भर्दै आएकी छन्। बिरामी, घाइते तथा विपद्मा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने कठिन जिम्मेवारीमा उनी निरन्तर खटिँदै आएकी हुन्।

    हेलिकप्टर उडान आफैँमा चुनौतीपूर्ण काम हो। त्यसमाथि पहाडी तथा हिमाली भूगोल, प्रतिकूल मौसम, सीमित दृश्यता र आकस्मिक उद्धारको दबाबबीच गरिने उडान अझ जोखिमपूर्ण हुन्छ। यस्तो अवस्थामा आफ्नो सुरक्षाभन्दा संकटमा परेका नागरिकको जीवनलाई प्राथमिकता दिएर उडान भर्नु अधिकारीको सेवाको विशेष पक्ष बनेको छ।

    ‘मानवताको वस्त्र’ लगाएर मैदानमा

    प्रधानमन्त्री शाहले प्रयोग गरेको ‘मानवताको वस्त्र’ भन्ने शब्दले अधिकारीको सेवाको सारलाई नै उजागर गरेको छ। विपद्का बेला सामाजिक सञ्जालमा बहस चर्किरहँदा, राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप भइरहँदा र सरकारको भूमिकामाथि प्रश्न उठिरहँदा पनि उद्धारकर्मी भने घटनास्थलमै हुन्छन्।

    उनीहरूको प्राथमिकता एउटै हुन्छ-फसेकालाई निकाल्नु, घाइतेलाई अस्पताल पुर्‍याउनु र सम्भव भएसम्म जीवन जोगाउनु। त्यही अग्रपङ्क्तिमा रहेर काम गरिरहेकी अधिकारीलाई प्रधानमन्त्रीले सार्वजनिक रूपमा सम्मान गर्दै धन्यवाद दिएका हुन्।

    प्रधानमन्त्रीको सन्देशले एउटा प्रश्न पनि उठाएको छ-विपद्को समयमा हामी कसलाई नायक मान्छौँ? भाषण गर्नेहरूलाई कि जोखिम मोलेर जीवन बचाउन मैदानमा उत्रिनेहरूलाई? प्रिया अधिकारीजस्ता उद्धारकर्मीको साहसले यसको जवाफ आफैँ दिन्छ। विपद्को घाउमा मल्हम लगाउने हातहरू प्रचारका लागि होइन, मानवता बचाउन मैदानमा हुन्छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend