काठमाडौं । लामो समयदेखि थन्किँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले सरकारले ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली’ (ईडीएल भिआरएस) मार्फत लाइसेन्स छपाइको काम औपचारिक रूपमा सुरु गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने प्रक्रिया अघि बढाएको हो।नयाँ प्रणालीमा सेवाग्राहीको विवरण ईडीएल भिआरएसमा प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने व्यवस्था गरिएको छ।
केन्द्रबाट लाइसेन्स छपाइ सम्पन्न भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइनेछ। विभागका अनुसार यसले लाइसेन्स छपाइ र वितरणमा हुँदै आएको लामो ढिलाइ घटाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन सहयोग गर्नेछ।
नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा हुलाकमार्फत पठाइसकिएको छ। नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ।
यही प्रावधानअनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ अघि बढाएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी लाइसेन्स छपाइ प्रक्रिया अघि बढाएको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता नगरेको अवस्थामा पनि सेवाग्राहीको सुविधालाई प्राथमिकता दिँदै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको प्रत्यक्ष समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइने विभागले जनाएको छ।
नयाँ प्रणाली कार्यान्वयनसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण प्रक्रिया थप छिटो, व्यवस्थित र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ। लाइसेन्स छपाइमा देखिँदै आएको पुरानो चाप र थन्किएको विवरण व्यवस्थापन गर्न ईडीएल भिआरएसलाई महत्वपूर्ण सुधारका रूपमा अघि बढाइएको विभागको भनाइ छ।