काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गर्दै बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षा हुनसक्ने सम्भावना छ। भारी वर्षाका कारण यी प्रदेशका पहाडी तथा नदी आसपासका क्षेत्रमा थप जोखिम बढ्न सक्ने जनाइएको छ।
त्यस्तै, कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका अधिकांश भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित भएको न्यूनचापीय प्रणाली हाल बंगालको खाडीको मध्य क्षेत्रमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने भएकाले बुधबारदेखि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ।
भारी वर्षासँगै भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ। विशेषगरी सहरी तथा तराई क्षेत्रका केही स्थानमा डुबानको जोखिम रहनुका साथै खोलानाला तथा नदीमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम प्रतिकूल हुँदा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाको भनाइ छ। नदी तथा खोला आसपास भइरहेका निर्माण कार्यमा समेत जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी–खोला किनार, पहिरोको जोखिम भएका सडक तथा भिरालो भूभागमा अनावश्यक आवतजावत नगर्न र मौसमसम्बन्धी पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।
