काठमाडौँ । प्रतिनिधिसभाको पछिल्ला बैठकहरूमा सांसदहरूको व्यवहार र भूमिकामाथि सार्वजनिक प्रश्न उठ्न थालेपछि सभामुख डीपी अर्यालले संसद् बैठकलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन सांसदहरूलाई गम्भीर हुन निर्देशन दिएका छन्।
सभामुख अर्यालले संसद्को कार्यसम्पादनलाई मर्यादित र उत्कृष्ट बनाउने जिम्मेवारी कुनै एक पक्षको मात्र नभई सबै सांसदको साझा कर्तव्य र दायित्व भएको स्पष्ट पारे। उनले प्रतिनिधिसभाको गरिमा र जनविश्वास कायम राख्न संसद्मा प्रस्तुत हुने व्यवहार तथा गतिविधि नियमअनुकूल हुनुपर्नेमा जोड दिए।
संसद् सञ्चालनलाई थप व्यवस्थित बनाउन सबै दल तथा सदस्यहरूको सर्वसम्मत पहलमा ‘प्रतिनिधिसभा नियमावली, २०८०’ जारी गरी कार्यान्वयनमा ल्याइएको स्मरण गराउँदै सभामुख अर्यालले नियमावलीको प्रभावकारी पालना गर्न सांसदहरूलाई आग्रह गरे।
बैठकमा उनले संसद् नियमावलीकै परिधिभित्र रहेर सभा सञ्चालन भइरहेको उल्लेख गर्दै सांसदहरूको आचरण र भूमिकालाई नियमले तोकेको सीमाभित्र राख्नुपर्ने बताए।
“संसद् नियमावलीको परिधिभित्र रहेर नै हामीले सभा सञ्चालन गरिरहेका छौँ,” सभामुख अर्यालले भने, “म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि विशेष गरी नियम २० को खण्ड ‘ट’ प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”
सभामुखको निर्देशनसँगै आगामी बैठकहरूमा सांसदहरूको अभिव्यक्ति, आचरण र बैठक सञ्चालनको प्रक्रियालाई नियमावलीअनुकूल बनाउन थप कडाइ गरिने संकेत देखिएको छ। संसद्को गरिमा, अनुशासन र प्रभावकारिता कायम गर्न सभामुखले सबै दल तथा सांसदबाट जिम्मेवार भूमिका अपेक्षा गरेका छन्।