काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले डिजिटल कारोबारको विस्तारसँगै भुक्तानी प्रणालीलाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा प्रस्तुत ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा बोल्दै उनले प्रस्तावित कानुनी व्यवस्थाले विद्यमान समस्या समाधान गर्दै भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। विधेयक प्रतिनिधिसभाको कार्यसूचीमा समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
बुढाथोकीले भुक्तानी प्रणालीलाई रकम हस्तान्तरणमा मात्र सीमित नराखी बचतलाई उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
उनका अनुसार सुरक्षित र सहज भुक्तानी प्रणालीले औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँदै कृषि, ऊर्जा तथा पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुर्याउन सक्छ।
डिजिटल कारोबार बढेसँगै साइबर सुरक्षा र उपभोक्ताको वित्तीय तथ्यांक संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। साथै बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता अभिवृद्धि, एजेन्ट नियुक्ति, सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता तथा विदेशी संस्थाको अनुमति नवीकरणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
उनले प्रस्तावित विधेयकले बदलिँदो डिजिटल वित्तीय प्रणालीअनुसार भुक्तानीसम्बन्धी कानुनी तथा नियामकीय व्यवस्थालाई समयानुकूल बनाउन सहयोग पुग्ने बताए।