अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। उहाँले आगामी १५औँ महाधिवेशनलाई एकता, सहमति र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेस मालारानी गाउँपालिकाको १५औँ अधिवेशनको बुधबार उद्घाटन गर्दै प्रमुख अतिथि खनालले अर्घाखाँचीमा सम्पन्न वडा अधिवेशनहरूमा देखिएको सर्वसम्मत नेतृत्व चयनको अभ्यासले पार्टीभित्र सकारात्मक एकताको सन्देश दिएको बताउनुभयो।
“अहिलेको अवस्थामा कांग्रेस एक भएर अघि बढ्नुको विकल्प छैन। अर्घाखाँचीमा वडा अधिवेशनहरू सर्वसम्मत रूपमा सम्पन्न भएका छन्। यही एकताको भावनालाई पालिकादेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले १५औँ महाधिवेशनमार्फत कांग्रेसलाई थप व्यवस्थित, गतिशील र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। वडा तहदेखि नै सहमति, सहकार्य र एकताको संस्कार बलियो बनाउन सके त्यसको सकारात्मक प्रभाव पार्टीको माथिल्लो तहसम्म पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सहमहामन्त्री खनालले आफू नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीका लागि उम्मेदवारी दिने तयारीमा रहेको स्पष्ट पार्नुभयो। पार्टीका विभिन्न नेतृत्व तहसँग यस विषयमा छलफल भइरहेको जानकारी दिँदै उहाँले आगामी अधिवेशनमा आफूलाई विश्वास गरी मतदान गर्न प्रतिनिधिहरूसँग आग्रहसमेत गर्नुभयो।
निर्मला क्षेत्रीद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला महिला) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो।
क्षेत्रीले महिला नेतृत्वको सशक्त उपस्थिति, लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण, सुशासन, संगठन सुदृढीकरण तथा नयाँ पुस्ताको नेतृत्व विकासलाई आफ्नो प्राथमिकताका रूपमा अघि सार्नुभयो।
“महिलाको सहभागिता संख्या पूरा गर्नका लागि मात्रै होइन, निर्णय गर्ने तहमा प्रभावकारी उपस्थिति हुनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले कांग्रेसलाई सुदृढ र जनमुखी बनाउन नीति, विचार र संगठनलाई समान रूपमा बलियो बनाउनुपर्ने बताउनुभयो। लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणसँगै मुलुकमा सुशासन र जवाफदेहिता कायम गर्न कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
नेपाल महिला संघकी पूर्व केन्द्रीय प्रवक्तासमेत रहनुभएकी क्षेत्रीले अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका प्रतिस्पर्धी नभई संगठन निर्माणका सहयात्री बन्नुपर्ने बताउनुभयो। नयाँ पुस्तालाई अवसर दिँदै अनुभवी नेतृत्वको अनुभवलाई संस्थागत गर्न सके पार्टी थप सुदृढ हुने उहाँको धारणा थियो।
नेतृ क्षेत्रीले कांग्रेसलाई एकताबद्ध, समावेशी र जनतासँग थप नजिक जोडिएको संगठनका रूपमा अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै १५औँ महाधिवेशनलाई पार्टीको भावी दिशा र नेतृत्व निर्माणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले नयाँ पुस्ताको नेतृत्व, संगठनात्मक रूपान्तरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई कांग्रेसको आगामी यात्रासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
लामो राजनीतिक अनुभव, महिला अधिकारका विषयमा निरन्तर सार्वजनिक बहसमा सहभागिता, संसदीय अनुभव तथा संगठन निर्माणमा सक्रियतालाई आधार बनाउँदै क्षेत्रीले खुला महिला महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीभित्र आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेको बताउनुभयो।
क्षेत्रीले मालारानीमा गाउँपालिका सभापति शोभाखर खनालको नेतृत्वमा पार्टी संगठनका क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै त्यसको निरन्तरताका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सचिव कृष्ण खनालले मालारानीमा पार्टी संगठनलाई थप मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहमा संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र सक्रियतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो। साथै
जिल्ला सचिव खनालले आफू पनि आगामी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार रहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव लोकेन्द्र विक, नेपाल विद्यार्थी संघको पुर्ब सहमहामन्त्री ललिता सुनार, जिल्ला सदस्य अबिना आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कांग्रेसका नेता, तथा महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शोभाखर खनाल र नारायण प्रसाद भुसालद्वारा क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा
कार्यक्रमको अध्यक्षता गर्नुभएका मालारानी गाउँपालिका कांग्रेस सभापति शोभाखर खनालले आफ्नो कार्यकालमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी अधिवेशनमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। त्यसैगरी प्रदेश क का सचिब नारायण प्रसाद भुसालले समेत प्रदेश सभापतिको उमेदवार घोषणा गर्नुभएको थियो।
कार्यक्रममा निबर्तमान कार्यसमितिलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन काङ्ग्रेस गाउँपालिकाका सचिव रविन घिमिरेले गर्नुभएको थियो।




