काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेसँगै ललितपुरको च्यासल क्षेत्रमा पनि बाढीको जोखिम बढेको छ। मनोहरा खोलाको जलसतह बढेर सडकको तहसम्म पुगेपछि गृहमन्त्री सुधन गुरुङले शनिबार च्यासल क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
नेकपा एमालेको पार्टी कार्यालय आसपासबाट बग्ने मनोहरा खोलामा पानीको बहाव बढेपछि मन्त्री गुरुङले जोखिमको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन निर्देशन दिएका छन्।
निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा जलसतह बढिरहेको छ। सम्भावित डुबान तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्र र नदी किनारमा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलाको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले सुरक्षा निकायलाई उद्धार तथा विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको बताइएको छ।