कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले भारतीय नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ९ बहादुरगंज वस्ने बर्ष ३५ को मनोज कुमार गुप्ता र कृष्णनगर नगरपालिका वडा नं ३ वस्ने बर्ष ४४ को सोमनाथ चौहान रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
शनिवार लु २ त ५१२१ नम्बरको ट्रयाक्टर र लु ७६ प ८५७ नम्बरको मोटरसाईकल तौलिहवा हाटबजार देखी बहादुरगंज रोडमा एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ प्रहरी अधिकृतको टोली घटनास्थलमा उद्धार गर्ने क्रममा मोटरसाईकल चालकले शंकास्पद गतिविधि देखाएकोले खानतलासी गर्दा उनीहरुको साथमा भारतिय ५०० दरको १० गड्डीमा ९९९ थान जम्मा भारु ४,९९,५०० (भारू चार लाख उनान्नसय हजार पाँच सय) रुपियाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।