काठमाण्डौं । अपराध अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्य भन्दै प्रहरीले तल्लो इकाईसम्म सादा पोशाकमा खटाउने गरेका ’घुमुवा’ का गतिविधि आफैँमा शंकास्पद हुने गरेका छन् । विभाग, जिल्ला, ईप्रका र चौकीमा ‘इन्टेलिजेन्स’ ईन्ट भन्ने गरिए पनि घुमुवा भनिने सादा पोशाकका प्रहरी अपराधको अनुसन्धानभन्दा आफ्ना हाकिमको ‘लाइन’ मिलाउन सक्रिय देखिन्छन् ।
पुराना तथा नयाँ हाकिमलाई लाइन मिलाउन यस्ता घुमुवा खटाउने गरेको पाइन्छ । आफूलाई फाइदा दिने भएकैले घुमुवामाथिका अनधिकृत गतिविधिको आरोप उनीहरूका प्रमुख मान्न तयार छैनन् । भारतीय सीमा जोडिएका जिल्लाहरूमा घुमुवाको काम अवैध मालसामान ओसारपसारदेखि सुन तस्करीसम्म हुने गरेको छ । त्यस अलावा व्यापारीहरूसँग लाइन मिलाएर रकम उठाउनु घुमुवाको धन्दा बनेको छ । अझ कोशी प्रदेशमा यसको चलखेल अझै बढेको प्रहरी स्रोतले जनाएको छ ।
चन्दा असुली, हतियार बेचबिखन, अपहरण र डकैतीसम्मका घटनामा घुमुवा प्रहरीको संलग्नता शंकास्पद हुने गरेको छ । जुवातास खेलाउन लाइन मिलाउनसमेत प्रहरी प्रमुखहरूले घुमुवाको माध्यम उपयोग गर्ने गरेका समाचार नौला छैनन् । आफ्नो विश्वासपात्रलाई घुमुवामा राखेर रकम असुली गर्ने काममा प्रमुखहरू खप्पिस हुने गरेको प्रहरीकै एक अधिकृतले बताए । पूर्वका मोरङ, सुनसरी र झापा जिल्ला, पशुपति नगर घुमुवा प्रहरीका यस्ता क्रियाकलाप नौला मानिँदैनन् ।
झापा र मोरङ र सुनसरीमा अहिले पनि घुमुवा आतंक जारी छ । नेपाल प्रहरीले सूचना संकलन गर्न भन्दै सादा पोशाकमा जवान र सोही दर्जाभन्दा केही माथिका सुरक्षाकर्मीलाई बाहिर निकाल्ने गरेको छ । सादा पोशाकमा गुप्तचरीका लागि अनुसन्धानको छुट्टै इकाइ नभएको भने होइन । यस्ता कामका लागि राष्ट्रिय अनुसन्धान विभाग छ । तर अनुसन्धान विभागले सूचना समन्वय नगरेका कारण भन्दै घुमुवाका विषयमा तथ्य बताउन प्रहरी प्रमुखहरू पन्छिने गरेका छन् ।
सरकारकै एक मन्त्रीको आशीर्वाद पाएर बढुवा हुनुअघि नै कोशी प्रदेशको इन्चार्ज भएका डीआईजी राजेशनाथ बास्तोलाले यस्ता घुमुवालाई प्रश्रय दिइरहेको स्रोतको दाबी छ । निर्वाचनको बेला तिनै मन्त्रीलाई सहयोग गर्ने भन्दै उनकै प्रदेश पुगेका तत्कालीन एसएसपी बास्तोला त्यसको केही महिनामै उनकै पहलमा कोशी प्रदेशको तालिम केन्द्रमा सरुवा भएका थिए । त्यसपछि डीआईजीमा बढुवा नहुँदै कोशी प्रदेशको निमित्त प्रमुख भएका बास्तोलाले उनै शक्तिशाली मन्त्रीको पहलमा त्यहीँ पदस्थापना गर्न लगाएका थिए ।
उनै बास्तोलाले अहिले पूर्वका सबै जिल्लामा घुमुवा खटाएका छन् । ‘डीआईजीको नाम लिएर घुमुवाहरु आउने गरेका छन् जबकि प्रहरीमा यस्ता घुमुवा खटाउने चलन हटिसकेको थियो’, स्रोतले भन्यो । बास्तोलाको चैत २९ गते बढुवा भएको थियो । बढुवा हुनुअघि नै निमित्तको रुपमा पुगेका बास्तोलाले त्यही पदस्थापना गराएका थिए । अहिले उनी विराटनगर, झापा मात्रै पुग्ने गरेको स्रोतको दाबी छ । विराटनगरमा रानी, जोगमनी नाका, तथा झापाको काँकडभिट्टा नाका रहेको छ । साथै इलाममा पशुपति नगर नाका रहेको छ । यी तीन स्थानका डीआईजी बास्तोलाको आँखा लाग्ने गरेको स्रोतले जनाएको छ ।
तर डीआईजी बास्तोलाले घुमुवा परिचालन गरेको बारेमा भने, ‘मैले कुनै घुमुवा लिएर आएको पनि छैन, मेरा मान्छे कोही पनि छैनन्, जो थिए तिनै छन्, तिन्लाई ल्याएर चाहिँ ब्रिफिङ गरेर तलमाथि गरिस्, पैसा खाइस्, तेरा बंगारा झार्छु भन्या छ । त्यो तस्करहरुले माल समातेपछि आतंक फैलियो भन्या होला । उनले आफूले कुनै पनि गलत नगरेको स्पष्ट पार्दै भने, ‘कुन घुमुवाले पैसा खायो त्यसलाई खबर गर्नुपरो, हामी ल्याएर ङ्याकेर बर्खास्त गर्छौं । जिरो टोलिरेन्स पर्फर्मेन्स ।
डीआईजी बास्तोलाले आफ्नो नाम मुछिएकोबारेमा सोध्दा भने, ‘मेरो नाम त म डीआईजी छु नि आइहाल्छ नि यार । जे थिए त्यही म मात्रै एक्लै आएको हुँ । म काठमाडौँबाट आउँदा एउटा पनि लिएर आएको छैन । तिनै हुन् जिल्लाले चलाएका हुन् । जिल्लाले बदमासी गरे पनि खबर पाउँ । हामीलाई जानकारी गराउनुस् ती कारबाहीमा पर्छन् । दुई मतै हुँदैन । १९ को २० पनि हुँदैन । घुमुवा आतंकबारे थप भने, ‘हन्डे«ड पर्सेन्ट घुमुवाले आतंक गरे भने के आतंक गरे ? पैसा लिए भने कहाँ लिए ? कुन घुमुवाले लियो ? त्यो डीएसपीले लियो कि इन्स्पेक्टरले लियो कि या मान्छे कुट्यो कि । घुमुवा मात्र भनेर त कसलाई समाउन जानु ? नामसहित आयो भने त ठाडै कारबाहीमा पर्छ त्यो ।
डीआईजी बास्तोलाले आफूले नै आफ्नो रुचीमा घुमुवाहरु सीमामा पठाएको भन्ने आरोपमा भने, ‘त्यो चाहिँ अहिले जिरो टोलिलेन्स गरेपछि सबै तिर्मिराएका छन् । पैसा खान कसैले पाएको छैन के अहिले । हिजो जुन हिसाबले पैसा खाने चलन थियो त्यो कुनै पनि सेक्टरले अहिले पैसा खाएका छैनन् । किनकि अहिले मालै पास हुन पाएको छैन । त्यो तिर्मिर्राएको अवस्थामा मेरो नाम जोड्या होला । राजेशनाथ बास्तोलाले एक रुपैयाँ खाएको पनि छैन घुमुवा राख्या पनि छैन । प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरीभित्र घुमुवा भन्ने नहुने बताउँछन् ।