काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रि बितरण भइरहेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धीत मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केहि कम्पनीहरुले बढि तौलका खाना पकाउने ग्यास बिक्रि बितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको हो ।
खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास बिक्रि बितरणको बिषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।
बढि तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उहाँले यसले ठूलो दुर्घटना निम्ताउन सक्ने धारणा राख्नुभयो । उहाँले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गर्नुभयो ।