काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुकछेक बहस चलिरहेको छ । एक सातादेखि जिल्ला अदालतमा चलिरहेको थुनछेक बहसमा शुक्रबार शुरुबाटै टोपबहादुर रायमाझीका वकिलले बहस गरेका थिए । उनीहरुले शुरुदेखिनै एक दिन समय माग गरेकाले शुक्रबार शुरुदेखिनै उनीहरुले बहस गरे । अघिल्लो दिन बालकृष्ण खाँण र त्यो भन्दा अघिल्ला दिनमा अन्य आरोपीहरुको बहसमा समय खर्चेका कानून व्यवसायीले शुक्रबार वरिष्ठ अधिवक्ता सुशील पन्तको नेतृत्वमा रमेश बडाल, आकृति रायमाझी, ज्ञानेश्वर पराजुलीले बहस गरेका थिए ।
नक्कली शरणार्थी प्रकरणको मुद्दामा थुनछेकका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रमेश बडालले शुरुमै एक दिन समय माग गरेका थिए । न्यायाधीशले त्यस बारेमा कुनै जवाफ दिन सकेनन् । प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिन समय तोकिदिए र समय व्यवस्थापन गर्न भने त्यतिमै चित्त बुझाए पनि शुक्रबार दिनभरजसो नै उनीहरुले इजलास कब्जा गरिरहे ।
शुक्रबार टोपबहादुरको तर्फबाट बहस गर्ने पालो आएपछि यसअघि ६ प्रतिवादीका तर्फबाट बहस टुंगिएको । केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई, सन्देश शर्मा र इन्द्रजित राईको तर्फबाट बिहीबार बहस सकिएको थियो । शुक्रबार ११ बजे पूर्वमहान्यायाधीवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमेश बडालले बहस शुरु गरे । साँझ ५ बजेसम्म ७ जना वकिलले बहस गरिसकेर टुंग्याएका थिए ।
शुक्रबार अरु इजलासमा ३ बजेपछि बहस भएको थिएन । न्यौपानेको इजलासमा भने साढे ५ बजेपछि पनि बहस भइरहेको थियो । यसअघि नआएका कुरा राख्छु भन्दै बहस थालेका अधिवक्ताहरुले पुरानै कुराहरु दोहोर्याएका थिए । रायमाझीको तर्फबाट १० जना अधिवक्ताले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता पर्शुराम कोइराला, अधिवक्ता धर्मराज रेग्मी, आकृति रायमाझी लगायतले टोपबहादुर निर्दोष रहेको दाबी गर्दै थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न आग्रह गरेका थिए ।
उनीहरुले टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाएर मान्छेहरुलाई अमेरिका पठाउँछु भन्दै ठगी गरेको भन्ने प्रमाणहरु प्रहरीले जुटाउन नसकेको बताउँदै थुनामुक्त गर्ने बहस गरेका छन् । घर खानतलासी, फोन अथवा अन्य केहीमा उहाँ यो प्रकरणमा संलग्न भएको प्रमाण भेटिन्न अनि कसैको बयानका आधारमा मात्र मेरो पक्षलाई प्रतिवादी बनाउन मिल्छ ?’ उनीहरुको जिकिर थियो । भुटानी शरणार्थीहरुका नेता टेकनाथ रिजालले टोपबहादुरले प्रधानमन्त्रीहरूलाई भेटाएको भन्दै दिएको बयानको पुष्टि गर्ने आधार नभएको पनि कानून व्यवसायीहरुको तर्क थियो । प्रहरीले मुख्य प्रमाण भनेर पेश गरेको सानु भण्डारीको डायरीमा रायमाझीलाई पैसा दिएको उल्लेख नभएको बताईएको छ ।