काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत् डीएसपी गोविन्द पन्थीलाई मानव बेचबिखनविरुद्ध काम गर्ने भारतको एउटा सामाजिक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ ।
‘किन इण्डिया’ नामक संस्थाले २०२३ मा मानवबेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिएको हो । यो संस्थाले भारतमा बेचिएका नेपालीलाई उद्दार गर्न सहयोग गर्दै आएको छ ।
संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराईसहितको टोलीले उहाँलाई अवार्ड हस्तान्तरण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको उपस्थितिमा अवार्ड हस्तान्तरण गरिएको थियो ।
पन्थी उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गर्नुअघि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत् हुनुहुन्थ्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उहाँ अहिले वैदेशिक रोजगारीका नाममा हुने ठगी सम्बन्धी अपराध अनुसन्धान गर्ने जिम्मेवारीमा हुनुहुन्छ ।
भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीको प्रारम्भिक अनुसन्धान समेत उहाँले नै गर्नुभएको थियो । पछिल्लो समय भिजिट भिसाको प्रयोग गरि मानव तस्करीमा सङ्लग्न गिरोहको पहिचान गरि कारबाही गर्ने कार्यमा उहाँले महत्वपूर्ण भुमिका निभाउदैँ आउनुभएको छ ।
जसका कारण भिजिट भिसामार्फत् संगठितरूपमा मानव तस्करीमा सङ्लग्न भएका अध्यागमन अधिकृतसहित ट्राभल सन्चालक र दलाल गरि ८ जना पुर्पक्षका लागि थुनामा छ्न भने ३० जना धरौटीमा छुटेका छन् ।