काठमाडौँ । चैत्र १४–१६ सम्म काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेपाल–भारत संस्कृत सम्मेलन आयोजना हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपाल , केन्द्रीय संस्कृत विश्वविद्यालय र नयाँ दिल्ली इन्डिया फाउन्डेशन, नयाँ दिल्लीको संयुक्त आयोजनामा नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको हो।
सम्मेलनले नेपालको संस्कृतको गतिविधिलाई भारतमा एवं भारतमा भईरहेको संस्कृतको कार्यबारे पनि नेपालमा परस्पर जानकारी गराउने छ । आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेको सन्दर्भमा नेपाल र भारतमा संस्कृतका धेरै विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरू छन् । विभिन्न विदेशी विश्वविद्यालयहरूमा समेत संस्कृत अध्ययन गर्ने गराउने धेरै शोधार्थीहरू, प्राध्यापकहरू रहेका छन् ।
यसरी प्राचीन संस्कृतका ग्रन्थहरूको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको सन्दर्भमा विश्वभरीको संस्कृतको नेतृत्व संसाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षा विश्वले नै गरेको छ।
नेपाल–भारत संस्कृत सम्मेलन यस अघि पनि नेपालमा भएका थिए। नेपालमा विक्रम संम्वत २०२४ मा पहिलो पटक दाङमा नेपाल भारत संस्कृत सम्मेलन गरिएको थियो। त्यसैगरी दोस्रो पटक २०५१ मा तेस्रो पटक २०७५ र चौथो पटक २०७६ मा काठमाडौंमा भएका थिए।
नेपाल तथा भारतको भूमि संस्कृत भाषा, साहित्य, ज्ञान , विज्ञान आदि अनेकौ विषयवस्तुहरूको उद्गमस्थल भएको तथ्य सार्वजनिक नै छ। यसरी हेर्दा नेपाल र भारत दुवैको सामरिक र साझा सम्पत्तिका रूपमा संस्कृत भाषा रहेको स्पष्ट हुन्छ। नेपाल एवं भारतमा पनि वर्तमान औपचरिक शिक्षाको प्रारम्भ हुनुभन्दा पहिलेदेखि नै संस्कृतको अध्ययन अध्यापन विभिन्न व्यक्तिहरू तथा संस्थाहरूका माध्यमबाट हुँदै आएको थियो ।
भारत र नेपालका विभिन्न स्थानहरूमा पनि संस्कृतको सुदीर्घ परम्परा अझै पनि विश्वले नै देखिरहेको छ । दुवै देशहरू आजको राजनीतिक सीमाहरूमा स्थापित हुनुभन्दा पहिलेदेखि नै संस्कृत भाषा र यसमा निहीत ज्ञानको भण्डारलाई साझा सम्पत्तिका रूपमा सहजै आदान प्रदान गर्ने गर्दथे । जसको आज अझ बढी आवश्यकता रहेको छ ।
विद्या हराए काशी जानु भन्ने उखान अहिले पनि जनजनमा स्मरणीय छ । नेपालको आजको शिक्षाप्रणाली पनि भारतसँग मिल्दोजुल्दो नै देखिन्छ । यिनै तथ्यहरूका आधारमा नेपाल तथा भारतका संस्कृतका विशिष्ट विद्वान्हरूले गर्ने आपसी संवादबाट संसारको कल्याणका लागि संस्कृतको महत्वपूर्ण भूमिका हुन्छ । साथै आगामी गन्तव्य के कस्तो हुनु पर्दछ भन्ने निर्धारण गर्नु आजको आवश्यकता हो भन्नेमा विद्वानहरु एकमत रहने आयोजकले विश्वास लिएको छ। दुवै देशको विकासको आधार संस्कृत हो ।
परिवर्तित विश्व सन्दर्भमा संस्कृतले कसरी हामीलाई दिशा निर्देश गर्न सक्दछ भन्ने गहन पृष्ठभूमिका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो । नेपाल र भारतका संस्कृत सम्बन्धी साझा धारणाहरू यस सम्मेलनबाट निश्चित हुनेछन् । त्यसवाट विश्वभरी के नेतृत्व दुवै देशका संस्कृतज्ञहरूले लिन सक्षम हुने र ऐतिहासिक संस्कृत सम्मेलन बन्नेछ भन्ने विश्वास पनि आयोजकले लिएको संयोजक डा. प्रेमराज न्यौपानेले बताउनुभयो ।