काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका रविनमान लामा जेल चलान भएका छन् ।
आज जिल्ला अदालत काठमाडौंले लामालाई जेल चलान गरेको हो । उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो ।
गएको मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।
०७७ कार्तिक २० गते चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए । तर अदालतले कुटपिट र अंगभंगमा दोषी ठहर गरेको थियो ।