काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छन् ।
ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारबाट आयोजना गरेको श्रमाधान रोजगार मेलाको शुभारम्भको क्रममा उनले यो सुरुवातमात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् ।
कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने उनले बताइन् । मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरू सञ्चालन गर्न सकिने बताइन् ।
उनले भनिन्, ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट सुरु गर्दैछौं । अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बन्न युवाहरूलाई प्रेरित गर्नसक्छौं । सहकार्य लागि पनि हामीले छलफल चलाइरहेका छौँ ।’