Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित


३१, असार २०८१
  • 175
    SHARES
  • निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

    बाँके । बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो ।

    गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिविर बसेको ठाउँमा चिकित्सकहरुको पर्खाइमा बसिरहनु भएको थियो ।

    राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेनाले नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हालै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाको ज्योति फर्किने आशामा समिरा त्याहाँ पुग्नुभएको थियो ।

    “सहरको महँगो अस्पतालमा गएर आँखाको उपचार गराउन पैसा छैन । गाउँमै चिकित्सकहरुले परीक्षण गर्नुहुन्छ भन्ने सुनेर यहाँ आएकी हुँ ।” उमेरले आठ दशक पार गरी सक्नुभएकी समिरालाई गाउँमै स्वास्थ्य शिविर बस्ने कुराले उत्साहित बनाएको थियो ।

    “यसपटक त मैले आँखा देख्न पाउँछु कि भन्ने आशा छ”, उहाँले भन्नुभयो, “योभन्दा पहिला यस्तै शिविरमा धेरैले मलाई तिम्रो आँखाको शल्यक्रिया अस्पतालमा मात्रै सम्भव हुन्छ भन्ने गर्दथे तर मेरो आँखाको शल्यक्रिया निःशुल्क रुपमा यहीँ हुन्छ भन्नेमा मलाई विश्वास छ ।”

    समिराका अुनसार प्रत्येक वर्ष गाउँमै सञ्चालित शिविरमा आँखाको जाँच गराउँदा दुबै आँखामा मोतिबिन्दु लागेको र तत्काल शल्यक्रिया गर्नु पर्ने चिकित्सकले उहाँलाई सुझाव दिएका थिए । उहाँले आफूसँग शल्यक्रिया गर्न चाहिले रकम नहुँदा शिविर बस्न थालेदेखि आफू शिविरमा आउने गरेको बताउनुभयो ।

    आँखाको ज्योति फर्किने आशामा लौरो टेक्दै गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा बसेको शिविरमा पुग्नुभएकी समिरालाई यस पटक पनि चिकित्सकहरुले शल्यक्रिया नै गर्नुपर्ने सुझाव दिएपछि उहाँ निराश भएर घर फर्किनुभयो ।

    गाउँमै शिविर बस्ने कुराले समिरा जस्तै जैतुना पठान पनि उत्साहित हुनुभयो । सोही गाउँपालिका–२ रोशनपुवामा बस्ने ८० वर्षीया जैतुनाका दुबै आँखाले राम्रो ठम्याउन सक्दैनन् । उहाँले मान्छे र दृश्य दुवै धमिलो देख्दै आउनुभएको चार वर्ष भएको छ । पन्ध्र वर्षअघि श्रीमान्को मृत्यु भएपछि जैतुना दुई छोरासँगै बस्दै आउनुभएको थियो ।

    तर अहिले तीनै छोराहरु पनि अलगै बस्न थालेपछि उहाँ एक्लै बस्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण आँखाको उपचार गराउन नसकेको उहाँ बताउनुहुन्छ । समिरा जस्तै उहाँ पनि प्रत्येक वर्ष विभिन्न सङ्घसंस्थाले गाउँमै आयोजना गर्ने शिविरमा आँखा उपचारको आशामा जाने गरेको बताउनुहुन्छ ।

    नेपाली सेनाले शिविरको आयोजना गरेको खबर सुन्नु भएकी जैतुनालाई यस वर्षको शिविरमा आफ्नो आँखा निको हुनेमा विश्वास लागेको बताउनुभयो । ‘‘हाम्रो गाउँमा पहिलोपटक सेनाले शिविरको आयोजना गरेको छ भन्ने सुनेर आएकी छु’’ आँखाबाट बगेको पानी पुच्छ्दै उहाँले भन्नुभयो,‘‘यसपटक भने मलाई मेरो आँखाको राम्रोसँग जाँच हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।’’

    गाउँमै शिविर बस्दैछ भन्ने थाहा पाएर तीन वर्ष पहिले उच्च रक्तचापले हानेर शरीरको दाहिने भाग नै नचल्ने हुनुभएका चेतबहादुर परियार पनि निको हुने आशामा उपचारका लागि शिविरमा पुग्नु भएको थियो । श्रीमती चित्रकुमारी र छोरा न्यूजनका साथ शिविरमा पुग्नु भएका उहाँलाई यस पटकको शिविरमा भने आफ्नो नचल्ने शरीरका भागहरु चल्ने कुरामा विश्वास लागेको बताउनुहुन्छ ।

    शिविरबाट चेकजाँच गराएर बाहिरिंदै गर्दा उहाँले भन्नुभयो,‘‘मलाई सेनाको चिकित्सकले तपाईँको दाहिने हात र खुट्टा नचले पनि लौरोको सहारामा बिहान बेलुका सकेजति हिंड्नु निको हुन सक्नुहुन्छ भनेका छन्, जिब्रो लडबडिएर बोल्न समेत गाहे हुने चेतबहादुरले उत्साहित हुँदै भन्नुभयो ।

    शिविरमा बाँकेको बैचहवा–२ नरैनापुरकी आमना जोलाही बलबल अस्पतालसम्म पुग्नु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी आमना दुबै कानले राम्रोसँग सुन्न सक्नुहुन्न । तीन वर्षदेखि कानको समस्या झेल्दै आउनु भएकी ८० वर्षीया आमना ठूलो स्वरले बोल्दा मात्रै अलिअलि सुन्नुहुन्छ ।

    राम्ररी कान सुन्न नसक्दा आफ्नै परिवारका सदस्यबाट अपहेलित भएको उहाँ बताउनुहुन्छ । ‘‘मैले दुई ओटै कान सुन्न सक्दिन’’, उहाँले भन्नुभयो, ‘‘अरुले बोलेको सुन्न नसक्दा धेरै गाह्रो हुँदो रहेछ ।’’ आमना पनि अरु जस्तै प्रत्येक वर्ष गाउँमा नै आएर चेकजाँच गराउने शिविरमा नियमित चेकजाँच गराउँदै आउनु भएको छ ।

    सेनाले यस पालिकामा रहेका गरिब, असहाय, अशक्त र विपन्न वर्गको निःशुल्क स्वास्थ्य सेवा गर्ने उद्देश्यले शिविरको आयोजना गरेको थियो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले स्वास्थ्य शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित विरामीले गाउँमै निःशुल्क रूपमा स्वास्थ्य जाँच गराउन पाएको बताउनुभयो ।

    बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अुनसार उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो ।

    जिल्लाको दुर्गम भेगमा पर्ने यो पालिकाका अधिकांश बासिन्दाको आर्थिक अवस्था कमजोर हुँदा सहरका अस्पताल र निजी क्लिनिकहरुमा गई उपचार गराउन असमर्थ रहेकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको उहाँको भनाइ छ ।

    सैनिक अस्पताल नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा १६ जना विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

    शिविरमा नशा तथा हाड जोर्नी, स्त्री रोग, प्रसूति तथा बाँझोपन, छालारोग, बालरोग, दन्तरोग, नाक, कान, घाँटी, आँखालगायतका रोगहरूको परीक्षण गरिएको थियो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend