बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ ।
अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।
बुधबार बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले डिजिटल परिचय पत्र वितरण गरेर यसको शुभारम्भ गरेकी थिइन् ।
उनले नगरलाई डिजिटल रुपमा अगाडि लैजाने र डिजिटल प्रविधिका कारण सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरिन् ।
बुटवल उपमहानगरपालिकाबाट परिचय पत्र लिएका ९ सय ६४ जना रहेको र बाँकी रहेका अपांगता भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण गर्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बताइन् ।
उनका अनुसार बुटवलमा क वर्गको रातो परिचय पत्र लिने ३ सय, ख वर्गको निलो ४ सय २५, ग वर्गको पहेलो २ सय १३ र घ वर्गको सेतो परिचय पत्र लिने २८ जना अपांगता भएका व्यक्तिहरु रहेका छन् ।
यसअघि परिचय पत्र लिएकाहरुले नयाँ परिचय पत्र लिन नपर्ने र हराएमा प्रतिलिपि लिँदा डिजिटल परिचय पत्र दिने व्यवस्था मिलाएको उनले बताइन् ।