रोल्पा-३०,वैशाख ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक नेतृत्व नसुघ्रिए देश दुर्घटना पर्ने बताए । रोल्पाको लिवाङमा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै केसीले लोकतन्त्रको आधारसिला नै सुशासन भएको बताए । उनले नेताहरु नै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिनु देशको लागी दुभाग्र्य भएको भन्दै सरकारले गरेको छानबिनमा दोषी देखिए कसैलाई छाड्न नहुने बताए । केसीले लोकतन्त्रको सुन्दर पक्ष नै सुशासन भएको जिकिर गर्दै नेतृत्व तह नै नसच्चिए प्राप्त उपलब्धी नै गुम्ने खतरा बढेको ठोकुवा गरे । उनले विकास निर्माणका काममा अब पालिकाहरु एकआपसमा सहकार्य गरेर जानु पर्नेमा जोडदिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य कर्मचारी अभाव र स्रोत साधनका बावजुद पनि आफुहरुले गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको बताए । उनले जिल्ला समन्वयलाई अधिकार सम्पन्न नबनाउदा सोचे जस्तो काम गर्न नसकेको जिकिर गर्दै राज्यले यो समिति आवश्यकता ठानेर निर्माण गरिएको भए सोही अनुसार अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।
त्यस्तै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले नागरिकलाई छिटो र छरितो सेवा दिने गरी काम गरिरहेको बताए । उनले दुख दिने नियतले झुटा मुद्धाहरु अख्तियार उजुरी र मुद्धा प्रमाणित नभए उजुरी दिनेलाई कारवाही गर्ने नियम नहुदाँ अनाहकमा दुख पाउनु परेको दुखेसो पोखे ।
रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाले सेवाग्राहीलाई बिना झन्झट काम गर्दै आएको बताए । कार्यक्रममा लुंग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा, माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्ती मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख श्याम सारु मगर,सुनिल स्मृति गाउँपालिकाका पूर्व अध्यक्ष गुणेन्द्र घर्ती,पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष मानसिंह वि.क ,शिक्षा विकास तथा समन्वय केन्द्र रोल्पाका दुर्गा खड्का, कोष लेखा नियन्त्रण कार्यालयका रमेश घिमिरे लगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी,गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि,क्रियाशिल पत्रकार,सुरक्षाकर्मीले भनाई राखेका थिए ।
कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।