बैशाख ३१ बर्दिया । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले गृहजिल्ला बर्दियामा आमरण अनशन बसेका छन् । सांसद गौतमले विकास निर्माणसँग सम्बन्धित १५ बुँदे माग राखेर बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर अनशन बसेका हुन्।
बबई नदीका कारण सदरमुकाम नै जोखिममा रहेको र जब्दीघाटको पुल भत्किएको सात वर्ष बितिसक्दा समेत त्यसतर्फ कसैको ध्यान नगएको उनले बताए । गौतमले भत्किएको पुल हटाउन वा नयाँ पुल बनाउन सदन र सडकबाट पटक-पटक पहल गर्दा पनि सरकारले नसुनेको उनको आरोप छ ।
सरकारले बर्दियाका जनतालाई अपहेलित गरेको आरोप लगाउदै उनले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताए । गौतमले जिल्लामा थुप्रै समस्याहरु रहेको र ती समस्या समाधानका लागि सरकारलाई पटक पटक पहल गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर आफु अनशन बस्नुपरेको बताए ।
पूर्व मन्त्री समेत रहेका गौतमले २०७० सालदेखि लगातार तीन पटक चुनाव जितेर सांसद बनेका छन् ।