काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन्। काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने खेलमा सहभागी नहुने बताए। ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्याए। उनले सरकार र सत्तारुढ दलहरुले झुट बोल्नेबाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए।
अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।