काठमाण्डौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । एक वर्षपछि पहिलो पटक उही मितिमै बस्न लागेको बैठक आफैँमा अहम् देखिएको छ । बैठकका एजेन्डाहरु विभिन्न भए पनि तीभन्दा पनि एक वर्षमा हुन लागेको बैठक नै सबैभन्दा ठूलो एजेन्डा भएको भन्दै केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुन आतुर देखिएका छन् ।
हुनत काँग्रेसको विधानमा प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख छ । तर आम निर्वाचनसँगै सत्ताको संघर्षका कारण बैठक बस्न सकेको छैन । जसका कारण केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन् ।
सभापति शेरबहादुर देउवाले विधानको मर्ममाथि प्रहार गर्दासमेत संस्थापन इतर समूहले केही गर्न सक्ने अवस्था रहेन । पटकपटक संस्थापन इतरका नेताहरुले केन्द्रीय समिति बैठक डाक्न आग्रह गरेका भए पनि त्यसलाई देउवाले प्राथमिकता दिएनन् ।
यसपालि भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला डाकेपछि भने सभापति देउवा केन्द्रीय कार्यसमिति बैठक डाक्न वाध्य भएका हुन् । सामान्यतया आजको बैठकका मुख्य एजेन्डा तय भइसकेका भए पनि त्यसलाई अहिले बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर अन्तिम रूप दिइनेछ ।
एजेन्डामा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडका बारेमा भने मौन रहेको स्रोतले बताएको छ । उनलाई निलम्बन गर्नुपर्ने पक्षमा सभापति देउवा छैनन् । संस्थापन इतरका नेताहरुले भने पक्राउ परेदेखि नै निलम्बन गर्न आग्रह गर्दै आएका थिए । निलम्बन नगर्दा पार्टीले भ्रष्टाचारलाई सघाएको हुने धारणा राख्दै कारबाही गर्न माग गरिएको थियो । यद्यपि भ्रष्टाचारका विषयमा र सरकारमा गएका मन्त्रीहरुको प्रस्तुतिका बारेमा केन्द्रीय समिति बैठकमा ब्यापक चर्चा हुने नेताहरुले बताएका छन् ।