देउखुरी । लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ ।
प्रदेशका १२ जिल्ला भित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षती न्यूनिकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंमसेवकको रुपमा परिचालन भएको र जसबाट क्षति न्यूनिकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । प्रभावकारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायका विच सुदृढ सहकार्यले क्षति न्यूनिकरण गर्न मद्दत पुगेको हो ।
‘यो विपदको घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन । जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसैगरी परिचालन हुन जरुरी छ’उहाँले भन्नुभयो,‘समुदायका नागरिकहरु पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानको पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पुर्याउन सुरक्षा निकायलाई सहयोग गर्न सकिन्छ । यो भूमिका समुदायका नागरिकले निभाउनुभएको छ ।
यस्तै आपतकालिन उद्धार टोली मार्फत अवरुद्ध सडक सुचारु गरिएको, बाढी तथा पहिरोमा परेकाहरुको खोज तथा उद्धारको काम भएको छ । तीन वटै सुरक्षा निकायका प्रमुखहरु संग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचारु गर्न आपतकालिन उद्धारटोली खटिएको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकहरु सुचारु भएका छन ।
भालुबाङ-प्युठान सडकखण्ड, गोरुसिङ्गे-अर्घाखाँची, दाङ-सल्यान राप्ती लोकमार्ग सुचारु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रोल्पा जोड्ने सहिद मार्ग, पाल्पाको रानीमहल जोड्ने, दाङ-प्युठान जोड्ने भित्री सडक, गुल्मिको छत्रकोटको भित्री सडकमा झरेको पहिरो पन्छ्याउने काम चलिरहेको छ । तराईका जिल्लामा सडक सुचारु अवस्थामा छ ।
विपद् भएको ठाउँमा तुरुन्त उद्धार टोली परिचालन भएको र स्थानीय नागरिकहरुले स्वयंमसेवकको समेत भूमिका निर्वाह गरेका छन् । बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको समेत मुख्यमन्त्री आचार्यले बताउनुभयो । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरुसंग निरन्तर सम्पर्कमा छु ।
जहाँ विपद् आईपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘समुदाय स्तरबाट पनि खोज तथा उद्धारको काम गर्न सकिन्छ । सुरक्षाकर्मीको समन्वयमा स्थानीय बासिन्दा पनि स्वयंसवेकको रुपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा यो सहकार्य भएको पनि छ ।’