काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेल मात्र बनाउन नहुने प्रतिक्रिया दिएका छन् ।
शनिबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको भन्दै फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र बन्न नहुने बताए । उनले रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै जनताको मुद्धामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न समेत आग्रह गरे ।
सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले रास्वपाले निर्वाचनका बेला जनतासंग गरेको बाचा नभुलेको पनि धारणा व्यक्त गरे ।