काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन सहयोग गरेको बताएका छन् । पत्नी सीताको सातौँ दिनको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सबैको साथ माया र सद्भावले आफुलाई थप उर्जा मिलेको बताए ।
प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्दै राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताए । “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्”, प्रधानमन्त्री दाहालले भने ।
उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए । नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको भन्दै प्रधानमन्त्री प्रचण्डले बताए ।
“शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, प्रचण्डले भने “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारी, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।”
श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो ।
सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।