काठमाडौँ । नेपाली काँग्रेसका क्रियाशील सदस्यले यही साउनभित्रै कार्ड पाउने भएका छन् । आजदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् ।
महामन्त्री थापाले एक वर्षको तालिका सुनाएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् ।
उनले पार्टीको विधानमा भएका ४८ विभागमा अझै केही नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि उनले बताए । उनले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको थापाले बताए । समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए । प्रशिक्षणको कार्यतालिका समेत उनले सुनाएका छन् ।
भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन् । उनले ८ लाख ६६ हजार क्रियाशील सदस्यहरुको कार्ड जिल्लाबाटै साउन मसान्त भित्रै प्रिन्ट गरेर दिने पनि समय तोकेको बताएका छन् । केही जिल्लामा यसको शुरुआत भइसकेको पनि उनले बताए ।