रोल्पा । आज असार १ गते, मगर समुदायको मौलिक पर्व ‘भूमे नाच’ विभिन्न जिल्लाहरू—बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङ लगायत मगर बाहुल्य क्षेत्रहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। यस पर्वले मगर समुदायलाई सांस्कृतिक रुपमा मात्र होइन, सामाजिक एकता र पहिचानमा समेत मजबूती दिएको देखिन्छ ।
भूमे नाच मगर समुदायको ऐतिहासिक र धार्मिक विश्वासमा आधारित पर्व हो। एक किंवदन्ती अनुसार, खोलामा पानी भर्न जाने क्रममा मान्छेहरू हराउन थालेपछि गाउँमा त्रास फैलिन्छ। पछि सिर्पाली बिकले एक धार्नीको सानासो प्रयोग गरी एक सर्पलाई नियन्त्रणमा लिएर सर्पसँग सम्झौता गर्छन्, जसअनुसार असार १ गते भूमिदेवतालाई पूजा गरी एक हाँसे भेडा बलि चढाइन्छ। तबदेखि प्राकृतिक विपत्तिबाट बच्न र समुदायको समृद्धिका लागि भूमे नाच सुरु गरिएको विश्वास गरिन्छ ।
भूमे पर्व मात्र रोल्पा र रुकुम पूर्वमा सिमित नरही अहिले काठमाडौं, पोखरा, दाङदेखि लिएर अमेरिका, जापान, कतार, युके जस्ता अन्तर्राष्ट्रिय स्तरमा समेत फैलिएको छ। मगर समुदायको बसोबास जहाँ–जहाँ पुगेको छ, त्यहाँ–त्यहाँ भूमे नाचको सांस्कृतिक चहलपहल बढ्दै गएको छ ।
भूमे पर्व फुकाउने दिन गाउँअनुसार फरक हुन्छ। कतै जेठ १, कतै जेठ १५, कतै पुन्निमा दिनमा पर्व सुरु हुन्छ । मुखियाबाट अनुमति लिएपछि दमाईमार्फत बाँसुरी, ट्याम्की, धोल आदि बाजा फुकाउने चलन रहन्छ। युवायुवतीको समूह ‘नोगोवाङे’ वा ‘भल्क’ बनाइन्छ जसले रोटी, रक्सी लिएर लेकमा चढ्दै भूमे नाच सुरु गर्छन्। रातभर गीत नाचपछि बिहान पूजा गरी फूल टिप्न जान्छन्। फूल टिप्ने क्रममा धार्मिक र सांस्कृतिक अनुष्ठानहरू पनि सम्पन्न गरिन्छन् ।
युवायुवतीहरूले घलेको र गुन्यूचोलीमा सजिएर ट्याम्की, दमाह, सहनाईको तालमा लहरै नाच्ने भूमे नाच सांस्कृतिक पहिचानको अद्वितीय नमूना हो। पन्थ्यौली पूजा, जलाकी बोकेर घुमाउने चलन, फूल वितरण लगायतका परम्परागत कार्यले समुदायमा परस्पर सहयोग र स्नेह अभिवृद्धि गर्छ ।
अन्ततः असार १ गते विशेष पूजाआजा र साँधे बलि दिने कार्य सम्पन्न गरेर भूमे नाचको समापन गरिन्छ । यो पर्वमा बलिदान पनि गाउँअनुसार फरक देखिन्छ—कतै भाले, कतै बोका, कतै सुंगुर। यस पर्वले करिब एक महिनासम्म सांस्कृतिक चहलपहल कायम राख्दछ ।
भूमे नाच केवल मगर समुदायको पर्व मात्र होइन, नेपाली समाजमा विविधता र साझा संस्कृतिको अद्भुत उदाहरण हो । यो पर्वले मगर समुदायलाई मात्रै होइन, अन्य समुदायलाई पनि समेट्दै ‘साँझा उत्सवको रूप’ लिइसकेको छ । भूमे नाच, साँच्चै नै, मगर पहिचान, एकता र सांस्कृतिक गौरवको प्रतीक हो ।