सुनसरी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवामा ४१औँ बिपी स्मृति दिवस तथा नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र पक्षधर दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
विगतमा दुई तिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको उल्लेख गर्दै सभापति देउवाले अहिले पनि स्थिर सरकार रहन नदिने चलखेल भइरहेकाले सबै लोकतन्त्र पक्षधर एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सभापति देउवाले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको बताउनुभयो ।
उहाँले २०८४ को निर्वाचनमा कांग्रेसको तीनै तहमा सरकार बनाउने गरी अभियानमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो
।