गुल्मी l गुल्मी जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा साउने मेला आजदेखि सुरु भएको छ। साउन महिनाभर धार्मिक पूजाआजा, अनुष्ठान, र विशेष पर्वहरूको आयोजना गरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ।
समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार, यो वर्ष श्रावणी पर्व अन्तर्गत रुद्री पूजा, भक्तिसंगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिनेछन्। साथै, रामकुवा सम्बन्धी जनचासो र भ्रम हटाउन त्यस स्थानको जललाई ‘प्रसाद’को रूपमा वितरण गर्ने व्यवस्था मिलाइएको छ।
भक्तजनहरूको सुविधाका लागि निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ। यज्ञशालामा लगभग २०० जनासम्मका लागि आवास सुविधा प्रदान गरिएको छ। समितिका महासचिव यज्ञप्रसाद शर्मा पन्थीका अनुसार, दर्शनार्थीले पुजाका लागि तोकिएको रकम नगद वा बैंक भौचरमार्फत तिर्नुपर्नेछ।
महापोखरीमा स्नान गरेपछी चारधाम जान नपर्ने धार्मिक विश्वासका कारण यहाँ प्रत्येक साउनमा ठूलो संख्यामा श्रद्धालु आउने गर्छन्। यसपटक पनि रेसुङ्गा क्षेत्रका विविध धार्मिक स्थलहरू—यज्ञशाला, सद्धिमन्दिर, विष्णुपादुका, ऋष्यशृङ्ग आदि क्षेत्रमा भक्तजनको भीड देखिएको छ।
गुल्मी प्रशासन कार्यालयले आर्थिक वर्षमा पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गुल्मी जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा पाँच करोड ७८ लाख ७५ हजार ६८२ रुपैयाँ ७८ पैसा राजस्व सङ्कलन गरेको जनाएको छ। सबैभन्दा बढी राजस्व राहदानी सिफारिसबाट संकलन भएको हो, जसबाट ५ करोड ६५ लाख ४३ हजार ५१० रुपैयाँ संकलन गरिएको कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
गत वर्ष १० हजार ८३२ जनालाई राहदानी सिफारिस गरिएको थियो, जसमा ६,३४२ पुरुष, ४,१२४ महिला र ३६६ नाबालक छन्। अन्य राजस्वतर्फ १५ नयाँ संस्था दर्ता तथा २१० संस्था नवीकरणबाट ७ लाख ४४ हजार ८ सय रुपैयाँ राजस्व प्राप्त भएको छ। साथै, सात वटा संघ–संस्था खारेज गरिएको छ। यस अवधिमा २३,४९० जनाको नागरिकता विवरण दर्ता, १९,०२७ जनालाई नागरिकता वितरण, तथा ७४१ जना नाबालकको नागरिकता वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सेवा सुधारका लागि विद्युतीय टोकन प्रणाली, ज्येष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, कारागार सुधार, विपद् राहत वितरण, लागुऔषध नियन्त्रण लगायतका विविध कार्यक्रमहरू संचालन गरेको छ। नागरिक सहायता कक्षबाट ६,७१५ जनाले प्रत्यक्ष सेवा लिएको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने लक्ष्य रहेको जिल्ला अधिकारी गैरेले बताए।