काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, भगवान् शिवको विशेष आराधना गर्ने दिनमा पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ ।
श्रावण महिनालाई भगवान् शिवको प्रिय महिना मानिने भएकाले आजको दिन विशेष महत्त्व राख्दछ। श्रद्धालुहरूले व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, र मन्त्र जप गर्ने परम्परा पालन गरेका छन्। विशेषगरी महिलाहरू हरियो लुगा, चुरा, र मेहन्दी लगाएर शिव पूजा गर्न सहभागी भएका छन् ।
शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराण अनुसार यही महिनामा समुद्र मन्थनबाट निस्किएको विष भगवान् शिवले पान गरी संसारको रक्षा गरेका थिए, जसले यस महिनालाई अझ विशेष बनाएको छ ।
आजको दिन धार्मिक आस्थाले ओतप्रोत वातावरणमा भक्तजनहरूले शिवभक्तिमा लीन हुँदै दर्शन, पूजापाठ, र धार्मिक अनुष्ठानहरूमा सहभागीता जनाइरहेका छन् ।