काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन्। कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए। उनले सेनाबिनाको राज्य बनाउने प्रस्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए। उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौती गरेर खर्च कम गर्नुपर्ने बताए। उनले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे।
उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले भने, ‘‘प्रदेश कुनै काम नै छैन। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन। कुनै औचित्य छैन। राष्ट्रिय सभा खारेज गर्ने, प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ। अध्यक्ष लिङ्देनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा विरोध गर्ने चेतावनी दिए।