काठमाडौँ l नेपाल सरकार मन्त्रिपरिषद्को ताजा निर्णयअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मण पन्थी नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जारी सूचना अनुसार समितिको दिगो संस्थागत विकास, पञ्चाङ्ग निर्माण प्रक्रियाको वैज्ञानिकता र व्यवस्थापन सुदृढीकरणका लागि पन्थीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो ।
पन्थीको नेतृत्वमा आधिकारिक पञ्चाङ्ग (पट्टि) निर्माण, पर्व-उत्सवको मिति निर्धारण, तिथि-समन्वय तथा खगोलिय गणनाको एकरूपता र विश्वसनीयता अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
कार्यकारी निर्देशकका रूपमा उनले नीति-कार्यन्वयन, खगोल-अनुसन्धान प्रवर्द्धन, प्राविधिक समन्वय तथा धार्मिक-सांस्कृतिक संस्थासँग सहकार्य विस्तारजस्ता जिम्मेवारी वहन गर्नेछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति देशभर प्रयोग हुने पञ्चाङ्गलाई वैज्ञानिक, आधुनिक र विवादमुक्त बनाउन लक्षित प्रमुख संस्था हो । नयाँ नेतृत्वसँगै समितिको कार्यक्षमता, प्रविधि-मैत्रीकरण तथा सेवा विस्तारमा नयाँ गति आउने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।