काठमाडौं । आजदेखि वैदिक सनातन परम्पराअनुसार स्वस्थानी व्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिनाको यस पवित्र अवधिमा देशभरका वैदिक सनातन धर्मावलम्बीले माघ स्नान, स्वस्थानी व्रत तथा कथा वाचन गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गर्ने परम्परा छ ।
चन्द्रमासअनुसार माघ महिनालाई नेपालमा विशेष धार्मिक महत्वका साथ मनाइन्छ । यस अवधिमा पशुपतिनाथ, शालीनदी, गुह्येश्वरी, बज्रयोगिनी, मनकामना, स्वर्गद्वारीलगायत विभिन्न शक्तिपीठ तथा धार्मिक स्थलहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ । धार्मिक मान्यताअनुसार सतीदेवीका अंग पतन भएका स्थानहरूमा देवीदेवताको वास रहेको विश्वासका आधारमा शक्तिपीठहरूमा पूजा–आराधनाको परम्परा विकसित भएको हो ।
स्वस्थानी व्रत वैदिक सनातन धर्मको एक महत्वपूर्ण धार्मिक आस्था हो । यस व्रतमा भगवान् शिव, पार्वती, विष्णु, नारायण तथा स्वस्थानी देवीको पूजा गरिन्छ । व्रतको उद्देश्य आत्मशुद्धि, पारिवारिक सुख–शान्ति, आरोग्यता र मनोकामना पूर्तिसँग जोडिएको मानिन्छ ।
परम्पराअनुसार पौष शुक्ल चतुर्दशीका दिन हातखुट्टाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर स्वस्थानी व्रतको तयारी गरिन्छ । त्यसपछि पौष शुक्ल पूर्णिमादेखि नियमित माघ स्नान, कथा वाचन, संयमित जीवनशैली र नियमपालनसहित व्रत बस्ने चलन छ । माघ शुक्ल पूर्णिमाका दिन व्रतको समापन गरिन्छ ।
धार्मिक विद्वानहरूका अनुसार स्वस्थानी व्रतकथाले धार्मिक आस्था मात्र होइन, नैतिकता, धैर्य, संयम र सामाजिक सद्भावको सन्देश पनि प्रवाह गर्छ । त्यसैले यो परम्परा पुस्तान्तरण हुँदै आजसम्म निरन्तर रूपमा जीवित रहँदै आएको छ । आजदेखि सुरु भएको स्वस्थानी व्रतले देशभर धार्मिक वातावरण सृजना गरेको छ भने भक्तजनहरू श्रद्धा, विश्वास र अनुशासनका साथ एक महिनासम्म धर्मकर्ममा लीन रहनेछन् ।