दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र सभ्यतालाई संरक्षण गर्दै पर्यटनसँग जोडेर व्यवसायीक रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । थारु कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारु संस्कृति आम्दानीको सशक्त माध्यम बन्न सक्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले थारु समुदायका सांस्कृतिक गतिविधिहरू माघ पर्वमा मात्र सीमित नराखी वर्षैभरि निरन्तर प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । “थारु कला र संस्कृतिलाई व्यवस्थित रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने कार्यक्रमहरू अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो । साथै, थारु संस्कृति जोगाएर आजसम्म संरक्षण गर्दै आएको समुदायप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले थारु समुदायलाई राज्यको मूलधारमा ल्याउने उद्देश्यसहित प्राथमिकताका साथ काम गरिरहेको स्पष्ट पार्दै मुख्यमन्त्री आचार्यले थारु कला, संस्कृति, भेषभूषा र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न थारु संग्रहालयलाई उपयोग गरिएको जानकारी दिनुभयो ।
प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको उक्त संग्रहालय देशभरका थारु समुदायको साझा सांस्कृतिक केन्द्रका रूपमा विकास गरिएको उहाँको भनाइ थियो ।
उहाँले संस्कार र संस्कृति पुस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । “भौगोलिक विविधताजस्तै समुदाय अनुसारको कला र संस्कृतिमा रहेको विविधताले नै लुम्बिनी प्रदेशलाई समृद्ध बनाएको छ,” मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा माघ सांस्कृतिक महोत्सवको उद्घाटन गरिएको हो । महोत्सवले थारु समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।