Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज खण्डग्रास चन्द्रग्रहण, नेपालबाट करिब एक घण्टा देखिने

विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण


१९, फागुन २०८२
  • 98
    SHARES
  • आज खण्डग्रास चन्द्रग्रहण, नेपालबाट करिब एक घण्टा देखिने

    काठमाडौँ । आज बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ ।

    चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुने छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।

    पृथ्वीले सूर्यलाई पूर्ण रुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

    यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक ग्रहण देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

    ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले बताए ।

    मङ्गलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

    विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण
    विश्वमा सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहणमध्ये नेपालबाट भने भोलिको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।

    मङ्गलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः ०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रष्ट रुपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एकमात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

    ग्रहण अवलोकन आफ्नो घरको छत, वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिनेछ । चन्द्रोदयसँगै नेपालमा सुरू हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले बताए ।

    पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाँले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ ।

    सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्नसक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ ।

    यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उनले बताए ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend