Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्वराजा शाहकाे नयाँ वर्ष शुभकामना सन्देश : राजनीतिमा युवा पुस्ताको संलग्नता उत्साहजनक [पूर्णपाठ]


३०, चैत २०८२
  • 80
    SHARES
  • पूर्वराजा शाहकाे नयाँ वर्ष शुभकामना सन्देश : राजनीतिमा युवा पुस्ताको संलग्नता उत्साहजनक [पूर्णपाठ]

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह ले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नतालाई उत्साहजनक बताएका छन्।

    शिक्षित, देश बुझ्ने र आधुनिक प्रविधिमा दक्ष युवाहरूको सक्रिय सहभागिताले राष्ट्रलाई प्रगतिको दिशामा अघि बढाउने विश्वास उनले व्यक्त गरेका छन्।

    नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै उनले विगतका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकी देश पछाडि धकेलिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

    शाहले राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू सतही मात्र भएको टिप्पणी गर्दै दलीय खिचातानीका कारण राष्ट्रको समृद्धि ओझेलमा परेको बताएका छन्। देशलाई प्रयोगशालाजस्तो बनाइएको उनको आरोप छ।

    आर्थिक अवस्था सुदृढ बनाउन छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले आन्तरिक सुरक्षा कमजोर हुँदा नागरिकले असुरक्षा महसुस गरिरहेको बताएका छन्।

    त्यस्तै, परनिर्भरता घटाएर आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिँदै उनले देशका स्रोत–साधनको उचित उपयोग गर्नुपर्ने धारणा राखेका छन्। निषेध, द्वन्द्व र विद्रोहले राष्ट्रलाई कमजोर बनाउने भन्दै संवाद, सहमति र सहकार्यमार्फत संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।

    नेपाललाई शान्ति र प्रगतिशील मुलुकका रूपमा देख्न चाहेको उल्लेख गर्दै उनले सबै नेपालीको सुख, शान्ति र न्यायप्रतिको आकांक्षा व्यक्त गरेका छन्।

    यस्तो छ नववर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन–

    त्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू

    हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना ।

    समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।

    वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।

    स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।

    आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन् । यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ ।

    आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो सदिक्षा हो । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । जय नेपाल

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend