अर्घाखाँची l सन्धिखर्क बजारमा यतिबेला बिहानैदेखि योगको चहलपहल बढेको छ। झिसमिसेमै बजारका गल्ली र चोकमा हतारिँदै टुडिखेलतर्फ लाग्ने मानिसहरूको भीडले स्वास्थ्यप्रति बढ्दो सचेतनाको संकेत दिएको छ।
पतञ्जली योग समिति नेपाल, अर्घाखाँचीको आयोजनामा बैशाख १२ गतेदेखि सुरु भएको पाँचदिने निःशुल्क योग विज्ञान शिविरले सदरमुकाम सन्धिखर्कको टुडिखेल बिहान ४ बजेदेखि नै भरिभराउ बन्न थालेको छ। योग तथा ध्यानमार्फत शारीरिक र मानसिक स्फूर्ति बढाउने, नकारात्मक सोच हटाउने तथा विभिन्न रोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविर बैशाख १६ गतेसम्म चल्नेछ।
शिविरमा स्थानीयवासी, सुरक्षा निकायका कर्मचारी तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारी गरी करिब दुई सयभन्दा बढीको सहभागिता रहेको समितिका अध्यक्ष प्रेमनारायण पोखरेलले जानकारी दिनुभयो। हरेक बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा व्यायाम, आसन, प्राणायाम, ध्यान र चिन्तनका अभ्यासहरू योगगुरुहरूले प्रशिक्षण दिइरहनुभएको छ।
शिविरमा सहभागी बिण्णु खनालले योगले शारीरिक तथा मानसिक तन्दुरुस्तीका साथै सोचमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको अनुभव सुनाउनुभयो। सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठद्वारा उद्घाटन गरिएको उक्त योग शिविरले स्थानीयस्तरमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।