बुटवल — रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुलभ खरेलले बुटवल क्षेत्रमा जारी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले जनताको सुरक्षित बसोबासको अधिकार र विकासबीच सन्तुलन कायम गर्दै दीर्घकालीन समाधान खोज्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।
सांसद खरेलले पछिल्ला दिनमा बुटवलका विभिन्न स्थानमा पुगेर नागरिकका गुनासा सुन्ने क्रममा सबैभन्दा बढी उठेको विषय सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या रहेको उल्लेख गरे। उनका अनुसार अधिकांश नागरिकले “कानुनी सुनिश्चिततासहित पुर्जा” आफ्नो मुख्य मागका रूपमा राखेका छन्।
मोतिपुर औद्योगिक क्षेत्रभित्र पर्ने भनिएको जग्गाको विषय संवेदनशील र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको उल्लेख गर्दै उनले त्यसको सामाजिक, राजनीतिक र प्रशासनिक आयामलाई गम्भीर रूपमा अध्ययन गरेर मात्र समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे।
सांसद खरेलले आफूले नागरिकका माग र समस्याबारे निरन्तर रूपमा भौतिक पूर्वाधार मन्त्री, उद्योग मन्त्री तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसँग समन्वय गर्दै आएको जानकारी दिए।
उनले सम्बन्धित मन्त्रीहरूबाट सरकारले जनअपेक्षा अनुरूप काम गर्ने, पुर्जा वितरण प्रक्रियालाई कानुनसम्मत र सहज बनाउने तथा मोतिपुर औद्योगिक क्षेत्रको विषयमा आवश्यक अध्ययन गर्न समिति गठन गर्ने विषयमा सकारात्मक प्रतिबद्धता प्राप्त भएको बताए।
“जनताको न्यायोचित माग, सुरक्षित बसोबासको अधिकार र विकासबीच सन्तुलन कायम गर्दै समाधान खोज्नु आजको आवश्यकता हो,” सांसद खरेलले भने, “म निरन्तर रूपमा नागरिककै पक्षमा उभिएर आवश्यक पहल, समन्वय र दबाब सिर्जना गर्दै अघि बढिरहनेछु।”
बुटवल क्षेत्रमा लामो समयदेखि उठ्दै आएको सुकुम्बासी तथा अव्यवस्थित बसोबासको मुद्दा अहिले फेरि चर्चामा आएको बेला सांसद खरेलको अभिव्यक्तिलाई स्थानीयले चासोका साथ हेरेका छन्।