विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजेसम्का लागि सारिएको छ । यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।
नेपाली काँग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको बताए । थापासँगै आजै गठबन्धन दलहरुबाट एक–एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भन्नुभयो।
सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ । एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । मुख्यमन्त्री थापा समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिन तयार छैनन् । काँग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शपथग्रहण साझ ५ बजेसम्का लागि सरेको बताउनु भएको छ ।