चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा बुधवारदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याउनु भएको छ। सांसदमा निर्वाचित भएको एकसय दिन पूरा भएको सन्दर्भमा सभापति लामिछानेले ‘ब्लु बस’ सञ्चालनले जिल्लावासी महिलाहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन’, तर जनप्रतिनिधि र नीति निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ। अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने तर्फ ध्यान दिनुपर्नेमा जोड दिदै बसबाट शुरुवात गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस सङ्ख्या थप्ने बताउनुभयो। साथै ५ सय महिलाहरुलाई निःशुल्क यातायात कार्डको समेत उपलब्ध गराईने जनाईएको छ।
वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउन एक सय दिनको रोजगारीको विज्ञापन खोलेको रास्वपाले जनाएको छ। यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियानका क्रममा आफ्नो सचिवालयका लागि एक जना प्रमुख कार्यकारी अधिकृतमा एक जनाको नियुक्ति गरेको उल्लेख छ।
आजैबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई ‘मोबाइल क्लिनिक’को उपचार सेवा उपलब्ध गराउने र गम्भीर बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिदिने जनाईएको छ। यसैविच चितवनमा हरेक चार महिनामा सार्वजनिक सुनुवाई गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाई गर्ने घोषणा गरिएको छ ।