काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सांगठनिक विस्तारलाई तीव्र पार्दै देशव्यापी जिल्ला अधिवेशनमा होमिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हिजो शनिबार देशका ३६ जिल्लामा सफलतापूर्वक अधिवेशन सम्पन्न भइसकेको पृष्ठभूमिमा आज आइतबार थप २९ जिल्लामा अधिवेशन भइरहेको छ। आज सातै प्रदेशका विभिन्न जिल्लाहरूलाई समेट्दै कोशी प्रदेशका ४, मधेशका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लाहरूमा नयाँ नेतृत्व चयन र वैधानिक संरचना निर्माणका लागि उत्साहजनक रूपमा अधिवेशन सुचारु रहेको पार्टीले जनाएको छ।
आज आइतबार अधिवेशन भइरहेका जिल्लाहरूमा कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम; मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही; बागमती प्रदेशका चितवन र ललितपुर रहेका छन्। त्यस्तै गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ; लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपंदेही र प्युठान; कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आज नयाँ नेतृत्वका लागि सांगठनिक अभ्यास भइरहेको छ।
विशेष सांगठनिक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने आगामी जेठ २६ गतेका लागि तय गरिएको छ। रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन अगावै देशका ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। आजको अधिवेशनसँगै पार्टीको मुख्य संगठन रहेका अधिकांश जिल्लाहरू जनअनुमोदित संरचनामा रूपान्तरण हुनेछन् भने बाँकी रहेका १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन सम्पन्न भएपश्चात क्रमश: गरिने रणनीति पार्टीले तय गरेको छ।