Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब बागलुङमै घुम्न पाइन्छ चिया बगान 


१८, साउन २०८०
  • 219
    SHARES
  • अब बागलुङमै घुम्न पाइन्छ चिया बगान 

    बागलुङ । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।

    वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक रटिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् । 

    “मुख्यमैत्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “ यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।” 

    वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताउनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ ।

    रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उहाँले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिनुभयो ।

    बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

    “क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययन र अवलोकन गराउन रेशको चिया बगान पुर्‍याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानु पर्दैन्”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।” डा थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अग्र्यानिक खानाको परिकार, घरबासको आतिथ्यतालगायत व्यवहारले लोभ्याउने बताउनुभयो ।

    चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताउनुभयो । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    “हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ”, थापाले भन्नुभयो, “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।”

    पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदानसमेत गरेका थिए ।

    विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानध्यापक थम्मन जिसीले बताउनुभयो । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ थियो ।

    समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि वयवसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । यस कार्यले अहिले सफलता पाइरहेको उहाँको भनाइ थियो । 

    बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend