काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित बिपरितका बिषयमा कसैसंग सहकार्य गर्न नसकिने स्पष्ट पार्नुभएको छ । एमाले परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तराष्ट्रिय परिस्थीति र नेपालको परराष्ट्र नीति सम्बन्धी एमालेको धारणा बिषयक कार्यक्रममा ओलीले राष्ट्रिय हितका लागि सरकार वा अन्य कुनै दलले ल्याएको कुरालाई समर्थन गर्न सकिने भएपनि राष्ट्रिय हित बिपरितका बिषयमा सहकार्य गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले राष्ट्रिय हितका बिषयमा एकजुट हुनुपर्नेमा आफुहरुको जोड रहेपनि सरकारले छिमेकी लगायत अन्य मुलुकसंग गरेको सम्झौता जानकारी नै नहुने बताउनुभयो । ओलीले भारतले विवादित बनाउन खोजेको सीमा, इपिजी प्रतिवेदन लगायतका बिषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै टुङ्गो लाग्न नसकेको जिकिर गर्नुभयो ।
नेपाली आवश्यकता र भावना अनुसार न्यायोचित बिषयमा प्रधानमन्त्रीको भारत भ्रमण कमजोर रहेको भन्दै उहाले केवल सत्ता स्वार्थ प्रधान भएको बताउनुभयो । त्यस्तै उहाँले रुस–युक्रेन युद्धमा नेपाल शान्तिका पक्षधर भएकाले तटस्थ बस्नुपर्ने बताउनुभयो ।
ओलीले व्यक्तिगत र देशको इगोले गर्दा सार्क असक्त तथा निरीह भएर निष्प्रभाबी हुन पुगेको टिप्पणी गर्नुभयो ।