काठमाडौँ । विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
आइबार अपराह्न ४ः३० बजे भर्चुअल बैठक बस्नुअघि सभापति रवि लामिछानेले पार्टीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सहजीकरण गर्न बनाइएको संयन्त्रका नेताहरूसँग आइतबार छलफल गरेका थिए।
विपद्मा खोजी, उद्धार र राहतका सन्दर्भमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुका साथै प्रभावकारी कामका लागि पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएका थिए।
प्रभावित क्षेत्रमा जाँदा पार्टीको संयन्त्र, सरकारी निकाय र स्थानीय तहसँग पर्याप्त समन्वय गरेर जान तथा अनावश्यक रूपमा बस्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
‘बाढी प्रभावित क्षेत्रमा जाँदा पीडितलाई थप पीडा हुने गरी होइन, पार्टी, सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर राहत हुने गरी जान पार्टीका सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको छ,’ रातोपाटीसँग खरेलले भने।
केन्द्रीय समिति बैठकमा बाढी प्रभावित क्षेत्रमा देखिएका समस्याबारे विभिन्न आयामबाट गम्भीर समीक्षा हुने खरेलले जानकारी दिए। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।
तर बाढी आएको चार दिनसम्म पनि शव व्यवस्थापन, उद्धार र राहतका लागि सरकारको पर्याप्त ध्यान नपुगेको आरोप लागेको छ। सत्तारुढ दलकै सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि भन्दा पनि अनावश्यक स्टन्टबाजी गरेको, भिडभाड गरी पीडित जनतालाई थप पीडा दिएको, सरकारको संयन्त्रसँग उचित समन्वय नगरेको जस्ता गुनासा बढेपछि लामिछानेले परिचालन संयन्त्रका नेताहरूलाई बोलाएर अहिलेसम्म भइरहेको प्रगति विवरण मागेका थिए।
त्यसअघि प्रभावित क्षेत्रका १५ वटा पालिका प्रमुखसँग उनले उद्धार, राहत र व्यवस्थापनका विषयमा चासो राखेका थिए।
खरेलले भने, ‘पालिका प्रमुखहरूले खास गरी शव व्यवस्थापन, बाढीमा फसेकाहरूको जीवित उद्धार तथा राहत, बाटो, पुल, बिजुलीलगायत कनेक्टिभिटीसँग सम्बन्धित कुराहरू तत्काल आवश्यक रहेको विषय राख्नुभयो। जवाफमा सभापतिले सरकारसँग समन्वय गरी यी विषयमा के कसरी उद्धार, राहत र व्यवस्थापन गर्न सकिन्छ, म सरकारसँग कुरा गर्छु भन्नुभयो।’
बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रका संयोजक गणेश पराजुलीले पार्टीले सरकारसँग समन्वय गरेर काम गरिरहेको जिकिर गरे।
‘पार्टी छुट्टै, सरकार छुट्टै भन्ने कुरा हुन सक्दैन, हुने कुरै भएन, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ। यतिखेर संसद्, सरकार सबै कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालिरहेको हुँदा सरकारले गरेका काम नै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष सहभागितामा गरेका काम भनेर यहाँले बुझिदिनुपर्छ,’ पराजुलीले भने, ‘यद्यपि त्योबाहेक पनि सरकारको संरचनाले विशेषगरी जीवन रक्षाका लागि, रेस्क्युका लागि काम गरिरहेको छ। रेस्क्यूपछिको प्राथमिक उपचार, त्यसपछि उहाँहरूलाई सेल्टरको व्यवस्थापन, खाद्यान्न व्यवस्थापन, औषधि व्यवस्थापन, लत्ताकपडालगायत यी सबै कुरामा मानवीय सहायता चाहिन्छ।’
विशेषगरी खाद्यान्न र त्यसपछि सेल्टरहरूको पाटोमा देशभरबाट जनताले गरेका राहत सहयोगलाई व्यवस्थापन गर्ने, समन्वय गर्ने र स्वयंसेवा गर्ने काममा पार्टीको संयन्त्रले सहयोगी भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ।
तर पार्टी पंक्तिसँग समन्वय नगरी आफूखुसी प्रभावित क्षेत्रमा जाने, अनावश्यक भिडभाड गर्ने तथा फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेपछि रास्वपाका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धितालले छुट्टाछुट्टै निर्देशन जारी गरेका छन्।
आइतबार जारी गरिएको निर्देशनमा प्रभावित क्षेत्रमा जाँदा विशेष सचेत रहन भनिएको छ। सचेतक क्रान्तिशिखाको निर्देशनमा भनिएको छ, ‘विशेषगरी, बाढी वा विपद्का दृश्यहरू खिच्ने, फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगर्नुहोला। तपाईंहरूले सूचना दिन वा प्रभावितप्रति सहानुभूति व्यक्त गर्नकै लागि गर्नुभएको भए पनि अहिलेको संवेदनशील अवस्थामा त्यसलाई सार्वजनिक रूपमा फरक ढंगले बुझिन सक्छ।’

क्रान्तिशिखाको निर्देशनलगत्तै अर्का सचेतक प्रकाशचन्द्र परियारले महाविपत्तिको बेला ‘ग्राउण्ड’को मनोविज्ञान र धरातलीय यथार्थभन्दा बाहिर नजान निर्देशन दिएका छन्।
‘माननीयज्यूहरू, तपाईंहरू जो-जो महाविपत् प्रभावित क्षेत्रमा हुनुहुन्छ, कृपया ‘ग्राउण्ड’को मनोविज्ञान, धरातलीय यथार्थ र सत्तारुढ मर्म, धर्म र कर्मभन्दा बाहिर नजानुहोला,’ सचेत गराउँदै परियारले भनेका छन्, ‘अहिले हाम्रा सांसद, अगुवा र पार्टीलाई नै बदनाम गराउने अभिष्ट बोकेका केही तत्वहरू लागिपरेको सूचना आएको छ। सत्तारुढ दलका सांसद, नेता र अगुवाहरूप्रति जति भरोसा हुन्छ, त्यति नै आवेग, आक्रोश र तारो हुन सक्छ।’
