वीरगन्ज । पर्साको वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले वीरगन्ज महानगरपालिका–१५ स्थित चालीस फिट्टे सडकखण्डमा बीआर ०५ बीएल १६८० नम्बरको अपाचे मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गरेको थियो। सो क्रममा उनीहरूले पाइन्टको खल्तीमा लुकाइछिपाइ राखेको अवस्थामा १५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, पक्राउ परेका पटेलको घरमा समेत खानतलासी गर्दा ११ ग्राम ५९ मिलिग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषध बरामद भएपछि मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले लागूऔषधको स्रोत, कारोबारको उद्देश्य तथा यसमा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।