काठमाडौँ । मलेसियाले नेपालबाट श्रमिक लैजाँदा आफ्नै रोजाइका २७५ वटा म्यानपावर कम्पनीमार्फत मात्रै प्रक्रिया अघि बढाउने अडान कायमै राखेको छ।
मलेसियाली पक्षले नेपाल सरकारलाई सोही सूचीअनुसार श्रमिक पठाउने प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिएपछि नेपालमा इजाजतपत्र प्राप्त अन्य ८ सयभन्दा बढी म्यानपावर कम्पनी मलेसियाली रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुने अवस्था बनेको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै नेपालका सबै वैधानिक म्यानपावर कम्पनीलाई समान अवसर उपलब्ध गराउन आग्रह गरेका थिए। शीर्ष तहबाट भएको आग्रहपछि मलेसियाली पक्षले आफ्नो निर्णय पुनर्विचार गर्ने अपेक्षा गरिएको थियो।
तर, मलेसियाले आफ्नो गृह तथा श्रम मन्त्रालयबाट तय गरिएको मापदण्ड र २७५ म्यानपावर कम्पनीको सूचीलाई नै कायम राखेको छ। वैदेशिक रोजगार विभागले खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाका लागि गरेको पत्राचार र प्रशासनिक आग्रहलाई समेत मलेसियाली पक्षले स्वीकार नगरेको जनाइएको छ।
मलेसियाको पछिल्लो अडानसँगै अब नेपाल सरकारमाथि तोकिएका २७५ म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक पठाउनुपर्ने अवस्था सिर्जना भएको छ।
सीमित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक पठाउने व्यवस्था कायम रहँदा रोजगारीमा पहुँच सीमित हुने र प्रतिस्पर्धा घट्दा श्रमिकमाथि थप आर्थिक भार पर्न सक्ने चिन्ता पनि उठेको छ।