रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले २ करोड ५१ लाख ९३ हजार रुपैयाँभन्दा बढी मूल्यका सुनका गरगहना बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रूपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई जाँच गर्ने क्रममा गरगहना बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शङ्कास्पद अवस्थामा रहेकी पटेलको जाँच गर्दा विभिन्न आकार र डिजाइनका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, टप, नाकको फूली, ब्रासलेटलगायतका गरगहना फेला पारेको जनाएको छ।
बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको छ। परीक्षणका क्रममा त्यसमा रहेको सुनको मात्रा करिब एक किलो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ।
सशस्त्र प्रहरीका अनुसार प्रचलित बजार मूल्यका आधारमा बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।
बरामद गरगहना र पक्राउ परेकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रूपन्देही पठाइएको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले घटनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।